AarthikBikash
सोमवार, साउन २५, २०८३
  • होमपेज
  • राजनीति
  • भारतीयपछि चिनियाँ राजदुतसँग प्रधानमन्त्री शाहको भेटवार्ता

भारतीयपछि चिनियाँ राजदुतसँग प्रधानमन्त्री शाहको भेटवार्ता

  • सोमवार, साउन २५, २०८३
भारतीयपछि चिनियाँ राजदुतसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत झाङबीच छलफल भएको हो ।

भेटवार्तामा द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।

यसक्रममा प्रधानमन्त्रीले पनि चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका छन् ।

प्रधानमन्त्री शाहले यसअघि आजै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भेटमा महामहिम श्रीवास्तवले प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए ।

यसअघि गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले नेपालमा रहेका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। चैत २५ गते भएको उक्त भेटमा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रधानमन्त्री शाहले यसअघि विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेटवार्ता नगर्ने नीति लिएका थिए। तर, पछिल्लो समय उनले असार २३ गते एसियाली विकास बैंक ९एडीबी०का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।

आजको भारतीय र चिनियाँ राजदूतसँगको भेटवार्तापछि प्रधानमन्त्री शाहले भोलि अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

सम्बन्धित समाचार