काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन् ।
बिहीबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठकबाट सभापति थापाले निवर्तमान सभापति देउवालाई स्वदेश फिर्तीको अवसरमा स्वागत गरेका हुन् ।
‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु,’ सभापति थापाले बोलेको वाक्य उद्धृत गर्दै एक नेताले भने ।
२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमण हुँदा घाइते भएका कांग्रेसका तत्कालीन सभापति देउवा त्यही साल फागुन १३ गते राति सिंगापुर प्रस्थान गरेका थिए।
त्यतिबेला भारत भ्रमणमा रहेकी उनकी पत्नी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा पनि उनीसँगै गएकी थिइन्। त्यसपछि २०८२ चैत ७ गते उनीहरूले थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसपछि देउवा साढे ५ महिनापछि आज स्वदेश फर्किएका छन् ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पार्टीको आधिकारिकतालाई लिएर विवाद सुरु भएको थियो। त्यसविरुद्ध पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू अदालत पुगेका थिए।
निर्वाचन आयोगले भने थापा नेतृत्वको कार्यसमितिलाई कांग्रेसको आधिकारिकता दिएको थियो। आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगे पनि गत वैशाख ४ गते सर्वोच्चले आयोगको निर्णय सदर गर्दै थापा नेतृत्वलाई आधिकारिकता कायम गरेको थियो।
फैसलाको पूर्णपाठ आएपछि देउवाले साउन ६ गते र खड्काले साउन १२ गते सर्वोच्चमा छुट्टाछुट्टै पुनरावलोकन निवेदन दिएका थिए। निवेदनमा सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र कांग्रेस केन्द्रीय कार्यसमितिलाई विपक्षी बनाइएको थियो।
सर्वोच्चले गत बिहीबार अघिल्लो फैसला पुनरावलोकनका लागि अनुमति दिएपछि कांग्रेसको आधिकारिकता विवाद फेरि सतहमा आएको छ।
देउवा पक्षले विशेष महाधिवेशनबाट आएको नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउँदै समानान्तर गतिविधि अघि बढाइरहेको छ भने संस्थापन पक्ष नियमित महाधिवेशनको प्रक्रियामा अघि बढिरहेको छ।
यता कांग्रेसका नेता डा। शशांक कोइरालाले पनि पार्टीको १५औँ महाधिवेशनका गतिविधि रोक्न माग गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा सभापति थापालाई ‘तत्कालीन महामन्त्री’ भनेर सम्बोधन गरिएको छ ।
यद्यपी, देउवाले फर्के लगत्तै आफू शासक नभई सेवकका रूपमा जनताको कुरा सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुने बताएका छन्।