काठमाडौं – सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच आज भेटवार्ता हुँदैछ।
उनीहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता तय भएको हो। भेटमा संसदीय मर्यादा तथा हालै सार्वजनिक लेखा समितिको बैठकमा भएको विवादबारे छलफल हुने बताइएको छ।
निर्वाचन प्रहरीको पोसाक खरिदमा ६० करोड हिनामिना भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो ।
सोही उजुरीमा गत बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उजुरीमाथि छलफल भएको थियो।
बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको र प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरीभित्रै सक्रिय रहेर प्रहरी प्रशासनभित्र अनियमितता मौलाएको आरोप लगाएका थिए ।
साथै सांसद सुनारले बैठकमा प्रहरी महानिरीक्षकमाथि प्रश्न उठिसकेकोले पदबाट हटाए छानबिन गर्नुपर्ने माग राखेका थिए ।
यसैगरी सांसद सुनारले आईजीपी कार्कीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको र उक्त घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएर यातना दिइरहेको आरोप पनि लगाएका थिए।
बैठकमा सांसद लगायत गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल उपस्थित थिए।
बैठकमा उठेका विषयलाई लिएर प्रहरी नेतृत्व र सांसद सुनारबीच असहमति देखिएको थियो।
यही घटनापछि संसदीय मर्यादा, समिति बैठकमा उठेका प्रश्न र प्रहरी नेतृत्वसँग सम्बन्धित विषयमा स्पष्टता ल्याउन सभामुख र आईजीपीबीच भेटवार्ता हुन लागेको हो।