काठमाडौं – भ्रष्टाचारबाट आर्जित करोडौँ रुपैयाँ जग्गा, बैंक तथा सहकारीमा घुमाएर वैध सम्पत्तिका रूपमा देखाएको आरोपमा काठमाडौं महानगरका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबाबु, उनकी पत्नी माला कुमारी महतो, माला कुमारीकी बहिनी रीना कुशवाहा र उनका पति कृष्णप्रसाद मेहताविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगले रामबाबु र माला कुमारीविरुद्ध ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा बिगो कायम गरेको छ। रीना र कृष्णप्रसादलाई भने मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए।
आयोगका अनुसार रामबाबुले भ्रष्टाचारबाट आर्जित रकम परिवारका सदस्यका बैंक तथा सहकारी खातामा राख्नुका साथै पत्नी, साली र साढुभाइमार्फत जग्गा खरिदमा लगानी गरेका थिए। जग्गा कारोबारमा वास्तविक मूल्यभन्दा कम थैली देखाउने तथा नगद र चेकमार्फत भुक्तानी गर्ने गरेको आरोपसमेत लगाइएको छ।
त्यस्तै, सहकारी ऋण, बैंक कर्जा र बैना कागजमार्फत रकमलाई विभिन्न तहमा कारोबार गरी अवैध सम्पत्तिको स्रोत लुकाउने र खरिद गरिएको जग्गालाई वैध सम्पत्तिका रूपमा देखाउने प्रयास गरेको आयोगको दाबी छ।
आयोगले रकम मुद्दती निक्षेपमा राखेर त्यसबाट आएको ब्याजलाई वैध आम्दानीका रूपमा देखाउने गरी कृत्रिम आर्थिक सामर्थ्यसमेत सिर्जना गरेको आरोप लगाएको छ।
रामबाबुविरुद्ध यसअघि नै गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भइसकेको थियो। त्यसबेला ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ ८८ पैसा बिगो कायम गरिएको थियो। सोही गैरकानुनी सम्पत्ति आर्जनलाई सम्बद्ध कसुर मानेर थप अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरणको कसुरसमेत देखिएको अख्तियारको दाबी छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ जारी हुनुअघि आर्जन भएको देखिएको १९ लाख १५ हजार ५१४ रुपैयाँ ८६ पैसा भने हालको बिगोमा समावेश गरिएको छैन।
रामबाबुविरुद्ध कायम गरिएको बिगोको दोब्बर जरिवाना र कैद सजायका साथै काठमाडौं महानगरपालिकाको इन्जिनियर पदमा कार्यरत रहँदा कसुर गरेको आरोपमा थप १० प्रतिशत सजाय माग गरिएको छ। सम्पत्ति शुद्धीकरणमा प्रयोग भएको भनिएका जग्गा तथा अन्य सम्पत्ति जफत गर्नसमेत आयोगले माग गरेको छ।
पत्नी र साली–ज्वाइँसमेत तानिए
आयोगले माला कुमारीले पतिले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति भएको थाहा हुँदाहुँदै आफ्नो नाममा घरजग्गा कारोबार तथा लगानी गरी अवैध सम्पत्तिको स्रोत लुकाउन र त्यसलाई वैध देखाउन सहयोग गरेको आरोप लगाएको छ। उनीविरुद्ध पनि रामबाबुकै बराबर बिगो कायम गरिएको छ।
त्यस्तै, रीना कुशवाहा र कृष्णप्रसाद मेहतामाथि भ्रष्टाचारबाट आर्जित रकम जग्गा खरिदमा लगानी तथा हस्तान्तरण गर्न सहयोग गरेको आरोप छ। गैरकानुनी सम्पत्तिको स्रोत, स्वरूप र स्वामित्व लुकाउन सहयोग गरेको भन्दै दुवैलाई मतियार बनाइएको छ।
आयोगले उनीहरूलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय गर्न माग गरेको छ।