AarthikBikash
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी

कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी

  • आइतवार, भदौ २८, २०८३
कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ।

सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था परीक्षण गर्ने तयारी गरिएको हो। अहिले धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोली कृष्णभीरमा स्थलगत निरीक्षणमा पुगेको छ।

सडक खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन गरेर काम भइरहेको छ। कृष्णभीरमा सडकको ग्रेड मिलाउने काम तीव्र पारिएको छ। दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लाटफर्म तयार गर्ने काम भइरहेको छ।

सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ। यद्यपि तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी सडक तयार पार्ने प्रयास भइरहेको छ। आयोजनाका अनुसार मौसमले साथ दिएमा आजै आंशिक रूपमा ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधन सञ्चालन गर्न सकिनेछ।

त्यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिनेछ। कृष्णभीरमा सडक चिल्लो र सम्याइएको देखिए पनि पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ र कम्प्याक्सनलगायतका काम पूरा गर्नुपर्ने अवस्था छ।

सडक खुलाउन अहिले दुईवटा बुलडोजरले लगातार काम गरिरहेका छन्। गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ।

सम्बन्धित समाचार