AarthikBikash
बिहिबार, अशोज २२, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस महाधिवेशन : ३ दिनभित्रमा नतिजा सार्वजनिक गर्ने

कांग्रेस महाधिवेशन : ३ दिनभित्रमा नतिजा सार्वजनिक गर्ने

  • बिहिबार, अशोज २२, २०८३
कांग्रेस महाधिवेशन : ३ दिनभित्रमा नतिजा सार्वजनिक गर्ने

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिको सङ्ख्या ७ हजार ३ सय १७ पुगेका छन्। यसअघि ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधि रहेको जानकारी गराइएको थियो।

१२२ जनाको नाम थपेर ७ हजार ३७७ जना पुर्‍याइएको सदस्य सचिव राजु कटुवालले बताए।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रवार बिहानदेखि नै थालिने बताए।

उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए। एकपटकमा १५० देखि २०० जनासम्मले मतपत्रमा स्वस्तिक छाप हान्न सक्ने र एक जनालाई मतदान गर्न करिब ३० मिनेटसम्म लाग्नसक्ने बताए।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्।

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ।

उनले आफूले निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने समितिका संयोजक खड्काले बताए। दुईदेखि तीन दिनको बीचमा सबै नतिजा सार्वजनिक गरिसक्ने बताए।

मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।

१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।

महाधिवेशनको निर्वाचनमा सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले शुक्रवार हुने मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्त्वपूर्ण मानिएको छ। प्रतिनिधिहरूको मतदानपछि आउने परिणामले पार्टीको आगामी राजनीतिक दिशा र सङ्गठनात्मक नेतृत्वसमेत तय गर्नेछ।

कांग्रेसको २९७ पदका लागि ८५० उम्मेदवार छन्।

सम्बन्धित समाचार