काठमाडौं – सरकारले निजी क्षेत्रका उद्योग, व्यवसाय तथा संस्थागत विद्यालयमा कार्यरत श्रमिक, शिक्षक र कर्मचारीलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदातालाई निर्देशन दिएको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजी क्षेत्रका प्रमुख छाता सङ्गठन तथा निजी विद्यालयका सङ्गठनहरूलाई औपचारिक पत्राचार गर्दै श्रमिक, शिक्षक र कर्मचारीले पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध गराउन ताकेता गरेको हो।
श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकले वर्षमा एक पटक आफूले खाईपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।
सोही कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि विभागले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई पत्र पठाएको छ।
त्यस्तै, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई पनि छुट्टाछुट्टै पत्राचार गरिएको छ।
चाडपर्वका बेला समेत रोजगारदाताले कानुनले तोकेको सेवा–सुविधा उपलब्ध गराउन आनाकानी गरिरहेको गुनासो आएपछि विभागले यस्तो कदम चालेको हो।
विभागले कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाताविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। सरकारी निर्देशनसँगै निजी क्षेत्रका श्रमिक, शिक्षक र कर्मचारीले पाउनुपर्ने चाडपर्व खर्चको कार्यान्वयनमा दबाब बढेको छ।
सम्बन्धित विषय: