काठमाडौं – सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएको निर्देशन बारम्बार पालना नगरेको भन्दै एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार एनप्याब्सनले सरकारबाट स्वीकृत विधान तथा सङ्गठनको मूल उद्देश्यविपरीतका कार्यसमेत गरेको पाइएको छ ।
यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मङ्सिर १२ गते जारी गरेको निर्देशनबमोजिम काम गर्न आग्रह गरेको थियो ।
तर, उक्त निर्देशनअनुसार कार्य गरेको नदेखिएकाले संगठनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार निलम्बनको निर्णय गरिएको सूचनामा उल्लेख छ ।
मन्त्रालयले सूचना जारी भएपछि एनप्याब्सनका नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने चेतावनीसमेत दिएको छ । त्यस्ता गतिविधि भए प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
यस्तो छ गृहमन्त्रालयको सूचना
