काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ ।
नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.५८ प्रतिशतको वृद्धि हो ।
बजारमा परिसूचक बढेसँगै कारोबार रकम पनि ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह्यो । कम्पनीको ३२ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच हुँदा ग्लोबल आइएमई बैंक ३० करोड ८३ लाख रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा रह्यो ।
मंगलबार ग्लोबल आइएमई बैंकको सेयर मूल्य २.४६ प्रतिशतले बढेर प्रतिकित्ता २८२ रुपैयाँ ८० पैसा पुगेको छ । बैंकको १० लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ ।
पछिल्ला केही दिनयता ग्लोबल आइएमई बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो देखिन्छ । बैंकले आफ्नो स्वामित्वमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखेपछि बैंकको सेयर कारोबारमा सक्रियता बढेको हो ।
बैंकले रिलायबल नेपाल लाइफको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर प्रतिकित्ता न्यूनतम २५० रुपैयाँका दरले बिक्रीमा राखेको छ । सबै सेयर न्यूनतम मूल्यमा बिक्री भए बैंकले १ अर्ब १६ करोड ९२ लाख रुपैयाँ प्राप्त गर्नेछ । बैंकले उक्त सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले खरिद गरेको आधारमा बिक्री मूल्यमा प्रतिकित्ता १५० रुपैयाँको अन्तर देखिन्छ ।
ग्लोबल आइएमई बैंकको आईएमई लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा १०–१० प्रतिशत स्वामित्व छ । एउटै बैंकको दुई जीवन बीमा कम्पनीमा यस्तो स्वामित्व रहनु नियामकीय व्यवस्थाअनुकूल नहुने भएपछि बैंकले रिलायबल नेपाल लाइफमा रहेको आफ्नो स्वामित्व घटाउन लागेको हो ।
मंगलबार कारोबार भएका उपसमूहमध्ये बैंकिङ समूह सबैभन्दा धेरै १।२४ प्रतिशतले बढेको छ । विकास बैंक समूह पनि १.०४ प्रतिशतले उकालो लागेको छ । लघुवित्त र अन्य समूहबाहेक बाँकी सबै उपसमूहमा वृद्धि देखिएको छ ।
यस दिन कारोबार भएका कम्पनीमध्ये १६५ वटाको सेयर मूल्य बढ्दा १११ वटाको घटेको छ ।
एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो नेपालको ३.४२ प्रतिशत र सिटी होटलको ३.०९ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।
यता, मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ ।