काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा एजेन्डामाथिको छलफल नसकिएपछि बैठक स्थगित गरिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक भोलि बिहान ११ बजे पुनः बस्ने जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा छलफलका लागि प्रस्तुत विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक केही दिनसम्म निरन्तर चल्नेछ ।
बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेका एजेन्डामाथि विस्तृत छलफल भइरहेको छ । साथै, पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको वर्तमान अवस्था र आगामी राजनीतिक कार्यदिशाबारे पनि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।
बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा छलफल भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
भोलि बिहान ११ बजे पुनः सुरु हुने बैठकमा धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो विचार प्रस्तुत गर्नेछन् ।