काठमाडौं – बढुवा समितिको सचिवालयले निजामती सेवाका विभिन्न सेवा तथा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा बढुवाका लागि ९ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको सचिवालयले मङ्सिर १२ गते सूचना प्रकाशित गर्दै योग्यताक्रमअनुसार उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।
समितिका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि मङ्सिर ११ गतेको निर्णयअनुसार नाम सिफारिस गरिएको हो।
सिफारिस हुनेमध्ये नेपाल प्रशासन सेवाका ५ जना रहेका छन्। त्यस्तै, नेपाल इन्जिनियरिङ सेवाको सिभिल समूहअन्तर्गत जनरल उपसमूहका १ जना र हाइवे उपसमूहका ३ जना छन्।
निजामती सेवा ऐन, २०४९ को दफा २४च बमोजिम बढुवाका लागि योग्यताक्रमअनुसार नाम सिफारिस गरिएको सचिवालयले जनाएको छ।