AarthikBikash
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री

  • बिहिबार, भदौ २८, २०८०
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुने बताएका छन्। नेपाल चिकित्सक सङ्घको आज ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन्।

सङ्घका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक स्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताएका उनले जानकारी दिए।

सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ। यही भदौ २७ गते हेटौँडामा रहेको सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो।

उक्त घटेको घटनाको विषयलाई लिएर आज प्रधानमन्त्रीसँग सङ्घको टोलीले भेट गरेको थियो। सङ्घले नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ।

डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सन्चो अस्पतालबाट चिकित्सकहरूले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सन्चो अस्पतालमा कार्यरत चिकित्सकलाई आक्रमण गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार