AarthikBikash
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

  • मङ्लबार, असार ११, २०८१
नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

काठमाडौं – नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा बस्दै छ।

चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन र नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्ने बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा भाग लिनका लागि चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइपुगेका छन्। तीन दिने नेपाल भ्रमणमा रहेका उपविदेशमन्त्री सुनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरे।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री सुनबीच नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपालले चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा छलफलका लागि तय गरेको छ। यस्तै व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे पनि छलफल हुने जनाइएको छ। साथै सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस्तै सन् २०१६ मा गरिएको यातायात र पारवहन सन्धि कार्यान्वयनमा पनि नेपालले जोड दिने, गत साता नेपाल र चीनबीच बेइजिङमा भएको नापी विभागका महानिर्देशकस्तरीय द्विपक्षीय बैठकबाट प्राप्त सुझावकाबारेमा पनि छलफल हुने परराष्ट्र मन्त्रलयको भनाइ छ।

सन् २०१७ मा नेपाल र चीनबीच सम्झौता भएको बीआरआईको प्रगतिबारे चर्चा गर्ने र सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता र फौजदारी विषयमा पनि पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतालाई बैठकमा चीनले उठाउने तयारी गरेको छ।

संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार