चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस र एमालेलाई चर्को पर्ने बताएका छन् ।
चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।
रविलाई पर्साबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै उनले त्यसको मूल्य चर्को पर्ने बताए।
अध्यक्ष प्रचण्डले भने,‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले देखेको छु । अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’
उनले अमानवीय र निरंकुश कामबाट सत्तापक्षकै नेताहरूले पनि विरोध जनाउन थालेको बताए । उनले प्रहरीबाट आतंकित पार्ने हिसाबले रमिाथि मध्यरातमा ज्यादती भएको बताए ।