काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन् । अमेरिकाको न्युयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले आज नेपालका तर्फबाट सम्बोधन गर्न लागेका हुन् ।
राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुने सत्रमा तय गरिएको छ । नेपालमा भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि पर्नेछ । प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत न्युयोर्क पुगेका हुन् । महासभाका विभिन्न सत्र तथा छलफलमा सहभागी हुने उनको कार्यक्रम छ।
न्युयोर्क बसाइका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
यसपटक प्रधानमन्त्री शाहको सम्बोधनमा पछिल्लो समय नेपालमा देखिएको जलवायुजन्य विपद् र त्यसबाट भएको क्षतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। प्रधानमन्त्री शाह कतार हुँदै असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ।