काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँध चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउने दिन सकिएको दाबी गरेका छन् । नेकपा एमाले पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।उनले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको बताए।
प्रधानमन्त्री ओलीले भने,‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए। त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो।’ उनले अहिले नेपाली कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरण भएको जिकिर गरे। उनले नेकपा एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने दाबी पनि गरे ।अहिलेको सरकारमा एमाले र कांग्रेस रहेको भन्दै रोकीएका कामहरू फेरि अघि बढ्ने बताए ।