काठमाडौं– यहाँको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो ।
दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते हुनुभएको छ । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो । सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए । ‘घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,’ उनले भने, ‘पक्राउ परेका पाँचै जना १८ वर्ष मुनिका छन् ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।