काठमाडौं – वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन अब कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय (केयू)बीच एपीआई गरेको छ ।
उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ ।
योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसअघि स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि आवेदन दिँदा विश्वविद्यालयका प्रमाणपत्र रुजु गर्न सेवाग्राहीलाई अनिवार्य रूपमा कार्यालय पुग्नुपर्ने बाध्यता थियो । अब त्रिवि र केयूको प्रणालीसँग सीधा अन्तरआवद्धता भएपछि रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा प्रमाणपत्रको विवरण स्वतः प्रमाणीकरण हुने भएकाले भौतिक उपस्थितिको आवश्यकता हटेको छ ।
यसअघि नै नागरिकता विवरण गृह मन्त्रालयको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (सीआइएमएस) र शैक्षिक विवरण राष्ट्रिय परीक्षा बोर्डसँग जोडिएको प्रणालीबाट प्रमाणीकरण हुँदै आएको थियो ।
यस्तै, महालेखा नियन्त्रण कार्यालयको ‘रेभिन्यू इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास)सँग जोडिएकाले एनओसी शुल्क पनि पूर्ण रूपमा अनलाइनमार्फत भुक्तानी गर्न सकिनेछ ।
एनओसी शाखाका अनुसार नयाँ प्रणाली लागू भएसँगै एनओसी लिन सेवाग्राहीलाई लाइन बस्नुपर्ने वा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।