काठमाडौं – कुशल भुर्तेलको विष्फोटक अर्धशतक र सन्दीप लामिछानेको जादुमयी स्पिन बलिङको मद्दतमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा ८ विकेटको सानदार जित निकालेको छ ।
सोमबार पहिलो खेलमा पराजित भएको नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा उत्कृष्ट पुनरागमन गर्दै श्रृंखला सन्तुलनतर्फ बलियो कदम बढाएको हो ।१२९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १५.५ ओभरमा २ विकेट गुमाउँदै सहज जित हात पार्यो। ओपनर भुर्तेलले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको शानदार इनिङ्स खेले।
उनले कुशल मल्लसँग पहिलो विकेटका लागि ६७ रनको साझेदारी गर्दै नेपाललाई मजबुत सुरुवात दिलाए। मल्ल १९ रनमा आउट भएपछि डेब्यु खेलिरहेका सन्तोष यादव १ रनमै स्टम्पिङ आउट हुँदा नेपाल केही दबाबमा परेको थियो।
तर त्यसपछि भुर्तेलले कप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर खेल सम्हाले । यी दुईबीच तेस्रो विकेटका लागि ५८ रनको अविजित साझेदारी बनेको थियो। ऐरीले १७ बलमा २३ रन जोड्दै टोलीलाई जितसम्म पुर्याए ।
यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले अनुशासित प्रदर्शन गर्दै युएईलाई २० ओभरमा ८ विकेट गुमाएर १२८ रनमा सीमित गर्यो ।
लेग स्पिनर लामिछानेले ४ ओभरमा १ मेडनसहित मात्र ६ रन खर्चेर ३ विकेट लिँदै खेलको मोड नै परिवर्तन गरे। यस्तै, तीव्र गतिका बलर हेमन्त धामी ले २ विकेट लिए भने नन्दन यादव र शाहब आलम ले १–१ विकेट हात पारे।
नेपालका बलरसामु युएईको शीर्ष क्रम धराशायी बनेको थियो। खेलको पहिलो ओभरमै कप्तान मोहम्मद वसिम लाई शून्यमै आउट गर्दै दबाब सिर्जना गरिएको थियो।
युएईका लागि अदीब उस्मानी ले ३० रन बनाउँदै संघर्ष गरे भने अक्षदीप नाथले अविजित ५३ रनको अर्धशतक प्रहार गरे। उनलाई मोहम्मद अरफान ले ३२ रन जोड्दै साथ दिएका थिए ।
सम्बन्धित विषय: