काठमाडौं – नेपाली कांग्रेले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले तामाङलाई पदबाट निलम्बन गरेको हो ।
अनुशासन उल्लङ्घनको कसुरमा वैशाख ७ गते सोधिएको स्पष्टीकरणको जवाफ सन्तोषजनक नदेखिएको ठहर गर्दै समितिले उनलाई निलम्बन गरेको हो ।समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार बसेको बैठकले तामाङले दिएको स्पष्टीकरण प्रारम्भिक रूपमा हेर्दा चित्तबुझ्दो नभएको र यस विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई पदमा राखिराख्दा अनुसन्धान प्रभावित हुने निष्कर्ष निकालेको छ।
पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा नियमावली २०७६ बमोजिम उनलाई आजैका मितिदेखि लागू हुने गरी मुद्दाको अन्तिम निर्णय नहुन्जेलसम्मका लागि निलम्बन गरिएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निलम्बनमा परेसँगै तामाङले अब जिल्ला सभापतिका रूपमा कुनै पनि कामकाज गर्न पाउने छैनन् ।
पार्टी नेतृत्वका विरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तामाङलाई सभापति पदको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
तामाङले केही समय अघि सभापति गगन थापासँग तीन अर्ब रकम छ भन्दै विवादिन अभिव्यक्ति दिएका थिए । दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि तामाङ थापाको विरोमा उत्रिएका थिए ।
उनले त्यतिबला भनेका थिए–‘गगन ले जितोस् भन्ने पक्षमा छु । शेरबहादुरले जित्यो भने गगनले पार्टी फुटाउँछ । फुट्नु भन्दा त बरु उसैले जितोस् न । ऊसँग पैसा धेरै छ, तीन अर्ब छ । एक अर्ब अस्ति (चुनावमा) खर्च गर्यो । दुई अर्ब अझै छ ।’
