AarthikBikash
बिहिबार, बैशाख १७, २०८३
  • होमपेज
  • राजनीति
  • क्रियाशील सदस्यता नवीकरण गर्न एक हप्ताको समय दिने कांग्रेसको निर्णय

क्रियाशील सदस्यता नवीकरण गर्न एक हप्ताको समय दिने कांग्रेसको निर्णय

  • बिहिबार, बैशाख १७, २०८३
क्रियाशील सदस्यता नवीकरण गर्न एक हप्ताको समय दिने कांग्रेसको निर्णय

काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता ‘इन्ट्री’लाई तीव्र बनाउँदै एक साताभित्र सबै प्रक्रिया टुंग्याउन निर्देशन दिएको छ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले नवीकरण तथा नयाँ सदस्यता शुल्कसहित विवरण केन्द्रीय कार्यालयको डिजिटल प्रणालीमा प्रविष्ट नगरेका जिल्ला र क्षेत्रलाई अन्तिम रूपमा एक साताको समय दिने निर्णय गरेको हो।

बैठकले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै जिल्ला कार्यसमितिबाट नवीकरण र प्रतिनिधिसभा क्षेत्रबाट संकलित नयाँ क्रियाशील सदस्यताको विवरण ‘डिजिटल सिस्टम’मा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाएका र नबुझाएका जिल्लाको छुट्टै सूची तयार गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, विदेशस्थित जनसम्पर्क समितिहरूका हकमा केन्द्रीय समितिले यसअघि तय गरेको व्यवस्थाअनुसार अनलाइनमार्फत क्रियाशील सदस्यता भर्ने प्रणालीलाई निरन्तरता दिइने भएको छ।

नेपाली नागरिकता भएका व्यक्तिहरूलाई जनसम्पर्क समिति सदस्यता तथा कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने व्यवस्था गरिनेछ भने अन्यका लागि पार्टीको विधानअनुसार प्रक्रिया अपनाइने जनाइएको छ।

विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको सन्दर्भमा भने सम्बन्धित जिल्ला, क्षेत्र, केन्द्रीय प्रतिनिधि वा वडा कार्यसमितिले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत डिजिटल प्रणालीमा सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार