काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौंस्थित बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका-१ घर भएका ३१ वर्षीय शक्ति राई, बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक पाँच पोखरी गाउँपालिका-१ घर भएकी ३९ वर्षीया बिमला दोङ र गोकर्णेश्वर नगरपालिका-५ बस्ने ३१ वर्षीय रोशन तामाङ छन् ।
प्रहरीका अनुसार न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९५ हजार रुपैयाँ, बिमलाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख ६० हजार रुपैयाँ र रोशनले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
त्यसपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बाट बिहीबार, बिमलालाई ललितपुर ग्वार्कोबाट शुक्रबार र रोशनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बाट शनिबार पक्राउ गरेको थियो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।