AarthikBikash
मङ्लबार, असार २, २०८३
  • होमपेज
  • राजनीति
  • परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

  • मङ्लबार, असार २, २०८३
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेट गरेका छन् ।

परराष्ट्रमन्त्री खनालले आज बिहान बेइजिङमा सिपिपिसिसीका अध्यक्ष वाङसँग भेट गरेका हुन् ।

भेटवार्तामा उनीहरुबीच नेपाल-चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासका अनुसार विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता-जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

नेपाल-चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ र गतिशील बनाउने सिपिपिसिसी अध्यक्ष वाङको दृढ प्रतिबद्धताको उच्च प्रशंसा गर्दै मन्त्री खनालले दुई देशबीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री खनालले आजै ‘ह्वाइट पागोडा’को भ्रमण गर्ने र त्यसपछि चिनियाँ सञ्चारमाध्यम तथा रोयटर्सलाई अन्तर्वार्ता दिने तालिका रहेको छ । उनी अपराह्न नेपाली दूतावास बेइजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी छन् ।

मन्त्री खनाल चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका थिए । उनीहरूबीच सोमबार प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो ।

मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री खनालको चीन भ्रमणलाई नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने तथा द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार