AarthikBikash
मङ्लबार, असार २, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जिल्ला कारागार संखुवासभामा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैद सजाय

जिल्ला कारागार संखुवासभामा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैद सजाय

  • मङ्लबार, असार २, २०८३
जिल्ला कारागार संखुवासभामा कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैद सजाय

संखुवासभा – संखुवासभा जिल्ला कारागार खाँदबारीमा दुई जना कैदीको हत्या प्रकरणमा १५ जनालाई जन्मकैदको सजाय भएको छ ।

२०८० साउन २४ गते संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी जिल्ला कारागार खाँदबारी भित्र मारिएका थिए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरले कारागारका सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको निष्कर्ष निकालेको थियो ।

आयोगका अनुसार कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई कैदीको मृत्यु भएको थियो ।

घटनापछि जिल्ला सुरक्षा समिति संखुवासभाले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो। समितिका इन्सपेक्टर सरोज खनाल र प्रशासन कार्यालयका शुब्बा तारणी घिमिरे सदस्य थिए ।

प्रदेश प्रहरी कार्यालयले पनि एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा इन्सपेक्टर ९प्रहरी निरीक्षक० जितेश दाहाल, सइ (प्रहरी नायव निरीक्षक) रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य थिए ।
यस्तै गृह मन्त्रालयले पनि घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक) कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका डीएसपी कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रशासकीय अधिकृत सदस्य थिए ।

उक्त समितिहरुले पनि सामूहिक कुटपिट गर्दा दुई कैदीको मृत्यु भएको निष्र्कष निकालेका थिए ।

कैदीको कुटपिटपछि हत्या अभियोगमा जिल्ला कारागारका इञ्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो।

तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश भएको थियो।

त्यसपछि जिल्ला सरकारी वकिल कार्यालले मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरेको थियो । जसमा सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको थियो ।

सोही अनुसार न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद फैसला सुनाएको हो।

त्यसैगरी प्रतिवादीबाट जनही ५० हजार मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए ।

कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राई र चौकीदार राम कार्कीलाई जन्मकैद फैसला भएको छ ।

यस्तै बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि जन्मकैद सजायको फैसला भएको छ ।

सम्बन्धित समाचार