AarthikBikash
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • राजनीति
  • भिडियोबारे चर्को आलोचनापछि सांसद सृष्टिको स्पष्टीकरण : मेरो पनि निजी जीवन छ

भिडियोबारे चर्को आलोचनापछि सांसद सृष्टिको स्पष्टीकरण : मेरो पनि निजी जीवन छ

  • मङ्लबार, असार २, २०८३
भिडियोबारे चर्को आलोचनापछि सांसद सृष्टिको स्पष्टीकरण : मेरो पनि निजी जीवन छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा प्रसारित भइरहेको आफ्नो भिडियोबारे स्पष्टीकरण दिएकी छन् ।

कारबाट टाउको बाहिर निकालेर बनाएको भिडियोबारे ट्राफिक नियम र सडक सुरक्षासँग जोडेर आलोचना भएपछि त्यसबारे सामाजिक सञ्जालमा स्पष्टीकरण प्रष्टिकरण दिएकी हुन् ।

सांसद भट्टराईले स्पष्टीकरण दिँदै उक्त भिडियो आफू सार्वजनिक पद तथा सरकारी जिम्मेवारीमा आउनुअघि कै भएको बताएकी छन्।

‘उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो हो। सो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु । ‘उक्त भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित थिएन । यो मेरो निजी जीवनको एक सामान्य र सहज क्षण मात्र थियो । भिडियोमा देखिएको गतिविधिलाई कुनै राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित नहुन सक्छ,’ सामाजिक सञ्जालमा सांसद भट्टराईले लेखेकी छन् ।

उनले उक्त घटनालाई व्यक्तिगत जीवनको सामान्य प्रसंगका रूपमा प्रस्तुत गरेकी छन् ।

सार्वजनिक पदमा रहेकाहरूले पनि व्यक्तिगत जीवन जिउने अधिकार कायम रहने उल्लेख गर्दै भट्टराईले नागरिकको चासोप्रति सम्मान व्यक्त गरेकी छन् । आफू सार्वजनिक जिम्मेवारीमा रहे पनि आधारभूत नागरिक अधिकार र व्यक्तिगत स्वतन्त्रताबाट वञ्चित नहुने उनको भनाइ छ ।

‘म सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक हुँ, र अन्य नागरिकसरह मेरो पनि निजी जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकार छ,’ उनले थप लेखेकी छन् ।

भट्टराईले भिडियोमा देखिएको गतिविधि सडक सुरक्षा तथा ट्राफिक अनुशासनका दृष्टिले उपयुक्त नदेखिन सक्ने स्वीकारेकी छन् ।

विगतमा उमेर र उत्साहका कारण त्यस्तो व्यवहार भएको हुन सक्ने उल्लेख गर्दै उनले त्यसलाई आलोचनाभन्दा पनि सिकाइ र सचेतनाको अवसरका रूपमा लिन आग्रह गरेकी छन् ।

साथै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

सम्बन्धित समाचार