AarthikBikash
बुधबार, असार ३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विश्वकपमा सेनेगलविरुद्ध फ्रान्स विजयी

विश्वकपमा सेनेगलविरुद्ध फ्रान्स विजयी

  • बुधबार, असार ३, २०८३
विश्वकपमा सेनेगलविरुद्ध फ्रान्स विजयी

काठमाडौं – कप्तान किलियन एम्बाप्पेको शानदार प्रदर्शनमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल प्रस्तुत गर्दै जित आफ्नो पक्षमा पार्यो। खेलको ६८औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले अर्को गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

images
इन्जुरी समयमा सेनेगलका इब्राहिम बायले गोल फर्काउँदै खेलमा फर्कने संकेत दिए। तर त्यसको केही क्षणमै एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

यो गोलसँगै एम्बाप्पेले विश्वकपमा फ्रान्सका लागि आफ्नो कुल गोल संख्या १४ पुर्‍याउँदै नयाँ इतिहास रचेका छन्। उनले फ्रान्सेली फुटबलका महान् खेलाडी जस्ट फन्टेनको १३ गोलको कीर्तिमान तोड्दै विश्वकपमा फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने।

फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा एम्बाप्पे शीर्षस्थानमा उक्लिएका छन्।

फन्टेन १३ गोलसहित दोस्रो स्थानमा झरेका छन् भने थिएरी हेनरी ६ गोलसहित तेस्रो स्थानमा छन्। त्यसपछि जिनेदिन जिदान, मिचेल प्लाटिनी र ओलिभियर जिरुडले समान ५–५ गोल गरेका छन्।

एम्बाप्पेको कीर्तिमानी प्रदर्शनसँगै फ्रान्सले महत्वपूर्ण तीन अंक बटुलेको छ ।

सम्बन्धित समाचार