AarthikBikash
बुधबार, असार ३, २०८३
  • होमपेज
  • राजनीति
  • असार तेस्रो साताबाट सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्छौं: भूमिमन्त्री रावल

असार तेस्रो साताबाट सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्छौं: भूमिमन्त्री रावल

  • बुधबार, असार ३, २०८३
असार तेस्रो साताबाट सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्छौं: भूमिमन्त्री रावल

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपूर्जा वितरण कार्य सुरु गर्ने जानकारी दिएकी छन्।

बुधबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री रावलले भूमिहीन व्यवस्थापनसम्बन्धी कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताउँदै सो जानकारी गराएकी हुन् ।

बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासीलाई लालपुर्जा उपलब्ध गराउने र काठमाडौंसहित विभिन्न क्षेत्रमा रहेका भूमिहीन नागरिकको व्यवस्थापन, बसोबास र वैकल्पिक व्यवस्था सम्बन्धी विषयमा सरकारको योजना स्पष्ट पार्न माग गरेका थिए ।

त्यसैको जवाफमा मन्त्री रावलले लालपुर्जा वितरणका लागि आवश्यक तयारी अघि बढिसकेको बताइन् ।

भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले संरचनागत रूपमा काम गरिरहेको उल्लेख गर्दै मन्त्री रावलले भनिन्- ‘लालपूर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौँ । अब असारको तेस्रो हप्तादेखि हामीले लालपूर्जा वितरण गर्ने काम सुरुवात गर्नेछौँ।’

विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको उनको भनाइ थियो।

विवरण सार्वजनिक गर्दै उनले भनिन्- ‘विगत ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि हालसम्म नौ हजारले मात्र लालपूर्जा पाएका छन् । अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिले सुकुम्वासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरूको समितिले काम गर्छ ।’

मन्त्री रावलका अनुसार विगतमा भूमि आयोगमार्फत सञ्चालन हुँदै आएको प्रक्रिया अहिले भूमि सम्बन्धी समितिमार्फत अघि बढाइएको छ ।

सम्बन्धित समाचार