काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।
बिहीबार (आज) बाट ७० वर्ष पुगेका महराले स्वास्थ्य र शारीरिक कारणले राजनीतिबाट विश्राम लिएका हुन् ।
पूर्व सभामुख समेत भइसकेका महराले आफूले विभिन्न रोगका कारण सक्रिय हुन नसक्ने समेत जानकारी गराएका छन्।
विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका महराले आफू ‘एट्रोफी’ सम्बन्धी नसा र मांसपेशीको समस्याबाट पीडित रहेको बताएका छन् ।
‘स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेन । परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय, प्रभावकारी र जिम्मेवार ढङ्गले योगदान गर्न कठिन हुँदै गएको छ । त्यसैले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु,’ महराद्धारा बिहीबार जारी वक्तव्यमा भनिएको छ ।
आफूले उक्त निर्णय कुनै राजनीतिक असन्तुष्टिका कारण नभई नियमित उपचार र औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएका कारण जिम्मेवारी वहन गर्न नसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल महरा लगायतको संलग्नता भेटिएको थियो ।
चिनियाँ संगठित गिरोहसँग मिलेर विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख महरालाई ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको थियो ।
तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ‘स्वास्थ्यको कारण’ देखाउँदै ‘हाजिरी जमानी’ मा छाडेको थियो ।सीआईबीले यसअघि मुद्दा नचलाइ राखेको थियो। सुन तस्करीको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, राजनीतिक शक्तिको आडमा उनीमाथि मुद्दा चलेको थिएन ।
त्यसपछि अंतरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका सबै मुद्दाहरू ब्रेक-थ्रु हुन्छन भनेका थिए। त्यसपछि महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले गत असोज २६ गते पुन पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर महरालाई उच्च अदालत पाटनले सोही प्रकरणमा २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
त्यसपछि गत चैत्र २६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही प्रकरणमा महरासहित २८ जना र एक कम्पनीलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अख्तियारले उनीहरुसँग ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा विगो माग दाबी गरेको थियो।
२०८३ जेठ १८ मात्रै महराविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।