सिरहा – सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।
दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि सुरक्षा अवस्था तनावग्रस्त बनेको भन्दै जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा आन्दोलन र हुलदंगा थप फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै कर्फ्यु लगाइएको उल्लेख छ।
देवानगञ्जको कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेको छ। त्यसको प्रभाव सिरहासँगै जनकपुरमा पनि देखिएको छ, जहाँ प्रदर्शनकारीले टायर बालेर विरोध जनाएका छन् भने बजार आंशिक रूपमा बन्द रहेको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
देवानगञ्ज घटनामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने अन्य घाइतेहरूको उपचार विराटनगरका विभिन्न अस्पतालमा भइरहेको छ। दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा गोली चलेको थियो।
घटनापछि सुनसरीका विभिन्न स्थानसहित मोरङ र सिरहामा पनि प्रदर्शन, तोडफोड र आगजनी भएका छन्।