AarthikBikash
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सिरहापछि धनुषामा पनि अनिश्चितकालीन कर्फ्यु

सिरहापछि धनुषामा पनि अनिश्चितकालीन कर्फ्यु

  • बिहिबार, साउन १४, २०८३
सिरहापछि धनुषामा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनका अनुसार सुनसरीको देवानगञ्ज घटनापछि स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु लागू गरिएको हो।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

कर्फ्यु लागू हुने क्षेत्रको सीमा र अन्य विवरण जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचनामार्फत सार्वजनिक गर्ने जनाएको छ।

यसअघि सिरहाको गोलबजारमा प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि सुरक्षा अवस्था तनावग्रस्त बनेको भन्दै आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो।

यसैगरी  देवानगञ्ज घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै मोरङको विराटनगरमा पनि नाराबाजी गर्दै प्रदर्शनकारी प्रशासन कार्यालयसम्म पुगेका थिए।

प्रदर्शनकारी प्रशासन कार्यालयको मूल गेटमा पुगेपछि सुरक्षाकर्मीले ब्यारिकेड गरी उनीहरूलाई रोकेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न मोरङ प्रशासनले सर्वपक्षीय बैठक पनि बोलाएको छ ।

आइतबार सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणका क्रममा गोली चलेको थियो। सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने दुई दर्जनबढी घाइते भएका थिए ।

घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र आगजनी भएका छन्।

त्यसपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको कर्फ्यु आदेश अझै कायम छ। साउन १२ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु अर्को सूचना जारी नभएसम्म यथावत् रहने प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार