कपिलवस्तु – कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह दुई दिनदेखि सम्पर्कविहीन भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार बिहान सिंह कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निर्माणाधीन कृषि फार्ममा जाने भन्दै मोटरसाइकलमा निस्किएका थिए । त्यसपछि आफन्तलाई फोन गर्दा ‘म हराएँ’ भन्दै सिंह हतासिएको आवाजमा बोलेका थिए ।
उक्त खबरपछि प्रहरी स्थानीय बासीसहित ठूलो संख्यामा रहेका टोलीले ढेकहरी क्षेत्रको आसपासका धेरै क्षेत्रमा खोजी कार्य गरेको थियो ।खोजीपछि उनी चढ्ने लु प्र ०१०१३ नम्बरको मोटरसाइकल गोरुसिङ्गे जंगलमा फेला परेको थियो ।
शुक्रबार दिउसो सिंह चढ्ने मोटरसाइकल जंगलमा भेटिए पनि उनी अहिलेसम्म भेटिएका छैनन् ।
कपिलवस्तुको चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा उनी शुक्रबार दिउँसो करिब ३ बजेर २७ मिनेटमा उनी रामराज पुलसम्म पुगेको देखिएको छ । त्यसयत उनको अवस्था अज्ञात छ ।
उनको फोनमा पनि सम्पर्क हुन सकेको छैन । यसबारे कल डिटेल लगायतका विवरणको आधारमा समेत खोजी भइरहेको छ ।
कपिलवस्तुका प्रहरीका अनुसार शुक्रबार र शनिबार खोजी गरे पनि भेटाउन नसकेपछि आज बिहानैदेखि खोजी कार्य जारी रहेको छ ।
उनको खोजीमा ड्रोन, तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी र स्थानीय परिचालन गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।