AarthikBikash
सोमवार, भदौ ८, २०८३
  • होमपेज
  • राजनीति
  • महिला उद्यमशीलता सम्मेलन गर्दै कांग्रेस

महिला उद्यमशीलता सम्मेलन गर्दै कांग्रेस

  • सोमवार, भदौ ८, २०८३
महिला उद्यमशीलता सम्मेलन गर्दै कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।

महिला उद्यमशीलताको प्रवर्द्धन, आर्थिक सशक्तीकरण तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको जनाइएको छ।

नीति प्रतिष्ठानअन्तर्गत उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार सम्मेलन आगामी भदौ ११ गते हुनेछ। सानेपामा हुने सम्मेलन बिहान ८ बजेदेखि अपराह्न ६ बजेसम्म सञ्चालन हुने उनले बताए।

महिला उद्यमीबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक नेटवर्किङका विषयमा छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनको प्रमुख आकर्षणका रूपमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी आयोजना गरिनेछ।

प्रदर्शनीमार्फत उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रत्यक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन्।

एक दिने सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल छलफल आयोजना गरिने जनाइएको छ। व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूले प्यानलमा सहभागिता जनाउनेछन्।

छलफलमा महिला उद्यमीले भोगिरहेका चुनौती, वित्तीय तथा लगानी पहुँच, प्रविधि र डिजिटल बजारको सम्भावना तथा व्यवसाय विस्तारका अवसरबारे विचार आदानप्रदान गरिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार