AarthikBikash
सोमवार, भदौ १५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राहत सामग्री र उपकरणसहित अस्ट्रेलियन एयरफोर्सको विमान नेपाल आउँदै

राहत सामग्री र उपकरणसहित अस्ट्रेलियन एयरफोर्सको विमान नेपाल आउँदै

  • सोमवार, भदौ १५, २०८३
राहत सामग्री र उपकरणसहित अस्ट्रेलियन एयरफोर्सको विमान नेपाल आउँदै

काठमाडौं – भोटेकोसी बाढीबाट प्रभावित नेपालका विभिन्न जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलिया सरकारले थप मानवीय सहायता उपलब्ध गराउने भएको छ।

भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुगेपछि अस्ट्रेलियाले रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएफ) को विमानमार्फत अत्यावश्यक राहत सामग्री, उद्धार उपकरण र जनशक्ति नेपाल पठाउने तयारी गरेको हो।

अस्ट्रेलिया सरकारले सी–१७ए ग्लोबमास्टर–३ विमानमार्फत राहत सामग्री तथा आवश्यक उपकरणसहितको जनशक्ति नेपाल पठाउने जनाएको छ।

रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, मानवीय सहायता तथा विपद् राहत सामग्री, आवश्यक उपकरण र जनशक्ति बोकेको उक्त विमान केही दिनभित्रै अस्ट्रेलियाबाट नेपालतर्फ प्रस्थान गर्नेछ।

बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि अस्ट्रेलिया सरकारले थप ३० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यो बाढीपछिको अस्ट्रेलियाको दोस्रो चरणको सहायता हो।

नेपाल सरकारले अस्ट्रेलियासँग हाइजिन किट, सौर्य बत्ती तथा अन्य अत्यावश्यक आपत्कालीन सामग्री उपलब्ध गराउन अनुरोध गरेको रक्षा मन्त्रालयले जनाएको छ। थप सहयोगअन्तर्गत २० लाख अस्ट्रेलियन डलर बराबरको रकम यस्ता सामग्री तथा अन्य मानवीय सहायता उपलब्ध गराउन छुट्याइएको छ।

उक्त रकम अस्ट्रेलियाली गैरसरकारी संस्थाका साझेदारमार्फत स्थानीय संस्थासँगको सहकार्यमा प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माणका काममा खर्च गरिनेछ।

साथै, अस्ट्रेलिया सरकारले आगामी दिनमा प्रभावित क्षेत्रमा आवश्यकताअनुसार  थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

सम्बन्धित समाचार