काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो गएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास संकट समाधान गर्न नेपाल आयल निगम र ग्यास विक्रेताबीच ६ बुँदे सहमति भएको छ।
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक दीपक बरालको नेतृत्वमा ग्यास विक्रेता महासंघ नेपाल र ग्यास विक्रेता संघ काठमाडौंका पदाधिकारीबीच भएको बैठकले संकट व्यवस्थापनका लागि ६ बुँदे सहमति गरेको हो।
सहमति अनुसार उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन तराईका उद्योगबाट सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ। संकटका बेला ग्यासको सीमित स्टकलाई अत्यावश्यक उपभोक्तामाझ केन्द्रित गर्न ठूला होटल, रेस्टुरेन्ट, खाद्य उद्योग, कारखाना तथा व्यापारिक मललगायत व्यावसायिक प्रयोजनमा ग्यास बिक्रीमा रोक लगाइएको छ।
यसैगरी विद्यार्थी, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, विभिन्न आश्रम तथा बाढी प्रभावित क्षेत्रमा सञ्चालित सेल्टरलाई ग्यास वितरणमा प्राथमिकता दिइनेछ।
कालीमाटीलगायत उपत्यकाका विभिन्न बिक्री डिपोमा ग्यास लिन उपभोक्ताको लामो लाइन लाग्न थालेपछि आपूर्ति व्यवस्थापन गर्न निगम र विक्रेताबीच यस्तो संकटकालीन सहजीकरण गरिएको हो।
व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीले भने आफ्नै ब्रान्डका सिलिन्डर डिलर वा उद्योगसँग समन्वय गरी तराईका उद्योगबाट रिफिल गरेर वैकल्पिक मार्ग हुँदै ल्याउन सक्नेछन्।
ग्यासको अनियमित वितरण र कालोबजारी नियन्त्रणका लागि निगमको ‘क्विक रेस्पोन्स टिम’ (द्रुत प्रतिक्रिया टोली) मा ग्यास विक्रेताका दुई जना प्रतिनिधिसमेत राखिने सहमति भएको छ।