काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३५६ पुगेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २२ गते साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न मानव अङ्गसहित १ हजार ३५६ वटा शव फेला परेको जनाएको हो।
प्राधिकरणका अनुसार विपद्मा परी हालसम्म १३ हजार ३९६ जनाको जीवितै उद्धार गरिएको छ भने करिब ४ हजार १९४ जना अझै सम्पर्कविहीनछन्।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवन र नवलपरासी क्षेत्रमा छन्। प्राधिकरणका अनुसार चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
फेला परेका १ हजार ३५६ शवमध्ये हालसम्म ९८ जनाको मात्र पहिचान भएको छ। पहिचान भएका शव आफन्तले बुझिसकेका छन्।
पहिचान हुन बाँकी शवका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित गर्ने कागजातसहित डीएनए परीक्षणका लागि नमुना दिन सक्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
बाढीपहिरोपछि हालसम्म करिब ४ हजार १९४ जना सम्पर्कविहीन रहेको तथ्याङ्क छ। तीमध्ये नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत करिब २ हजार ३४० जना र रसुवा जिल्ला प्रशासन कार्यालयमार्फत करिब १ हजार ९६७ जना नेपाली नागरिकको विवरण दर्ता भएको छ।
यसैगरी खोज तथा उद्धारमा खटिएका करिब १०० सुरक्षाकर्मी तथा कर्मचारी र ५८७ जना विदेशी पर्यटक पनि सम्पर्कविहीनको सूचीमा छन्।
यद्यपि सम्पर्कविहीनको सूचीमा रहेका केही व्यक्ति पहिचान हुन बाँकी शव तथा उद्धार गरिएका व्यक्तिको विवरणसँग दोहोरिएको हुनसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने काम तीव्र पारिएको प्राधिकरणले जनाएको छ।
महाविपत्तिपछि उद्धार र उपचारलाई उच्च प्राथमिकता दिइएको छ। हालसम्म बाढीपहिरोमा परी घाइते भएका ६ हजार ६७६ जनाको उपचारगरिएको छ।
जसमध्ये नेपाली सेनाले ३ हजार ३७९ र सशस्त्र प्रहरी बलले २ हजार ९७० जनाको उपचार गरेका छन्। विभिन्न १० अस्पतालमा उपचार गरिएका ३२७ जनामध्ये २४२ जना डिस्चार्ज भइसकेका छन्।
खोज, उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा हवाईमार्गको व्यापक प्रयोग गरिएको छ। हालसम्म नेपाली सेनाले १ हजार १५७ पटक, सशस्त्र प्रहरी बलले १९३ पटक र काठमाडौंबाट निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान भरेका छन्।
यसरी कुल १ हजार ४७९ पटक हवाई उडान भएको प्राधिकरणको विवरणमा उल्लेख छ।
बाढीपहिरोका कारण घरबारविहीन भएका ३ हजार ५३३ जनालाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ।
नुवाकोटमा २ हजार ६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना होल्डिङ सेन्टरमा आश्रित छन्।
उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकायका गरी २१ हजार ४०२ सुरक्षाकर्मी फिल्डमा परिचालित छन्। जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।
पीडितको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयमार्फत १५० भन्दा बढी मनोसामाजिक परामर्शदाता पनि प्रभावित क्षेत्रमा खटाइएको छ।
सरकारले प्रभावित क्षेत्रमा राहतका लागि नगद सहयोगसमेत उपलब्ध गराएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ वटा स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ।
भदौ २२ गते मात्रै दुई वटा हेलिकप्टर र आठ वटा मिनी ट्रकमार्फत खाद्यान्न तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ।
इन्धन अभाव हुन नदिन प्रभावित क्षेत्रमा ५५ हजार लिटर डिजेल, २३ हजार लिटर पेट्रोल र १९ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। साथै अनुदानका ४५७ वटा ग्यास सिलिन्डर समेत पठाइएको छ।
बाढीपहिरोका कारण क्षतिग्रस्त पूर्वाधारहरू क्रमशः सञ्चालनमा आउन थालेका छन्।
प्राधिकरणका अनुसार धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति पुनः सुचारु भएको छ।
सञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ वटा टावर र एनसेलका ७८ मध्ये ७६ वटा टावर पुनः सञ्चालनमा ल्याइएको छ।