काठमाडौं – न्यायपालिकाको गरिमा र स्वच्छतामाथि गम्भीर प्रश्न उठेको भन्दै नेपाल बार एसोसिएसनले विचौलिया र प्रधानन्यायाधीशबीच भएको भनिएको अडियोरसंवादको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न माग गरेको छ।
अदालतमा विचाराधीन मुद्दाहरूको फैसला प्रभावित पार्ने नियतले विचौलियाहरूसँग सेटिङ र सौदाबाजी भएका समाचार तथा श्रव्य(दृश्य सामाग्री सार्वजनिक भएपछि नेपाल बारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
एशोसिएशनले सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटसम्बन्धी सार्वजनिक विवरणबारे निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न माग गरेको हो ।
बारले न्यायपालिकाको उच्च नेतृत्व र न्यायाधीशको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई सञ्चारमाध्यममा प्रकाशित समाचारमा मात्रै सीमित राख्न नहुने बताएको छ ।
प्रधानन्यायाधीशलाई समेत जोडेर समाचार प्रकाशित भएपछि यसले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको बारको भनाइ छ ।
नेपाल बारले सार्वजनिक भएका समाचारमा उल्लेखित आरोपलाई अन्तिम सत्य वा दोष प्रमाणित भएको निष्कर्षका रुपमा लिन नमिल्ने समेत जनाएको छ ।
बारका महासचिव केदारप्रसाद कोइरालाद्धारा जारी विज्ञप्तिमा न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, निर्भीकता र संस्थागत विश्वसनीयता लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ भएकाले यस्ता संवेदनशील विषयमा सत्यतथ्य पत्ता लगाउन पारदर्शी प्रक्रिया आवश्यक रहेको उल्लेख छ ।
एशोसिएशनले सार्वजनिक भएका विषयमा निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित सक्षम निकायलाई आग्रह गरेको छ ।
कानूनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको परवाह नगरी कानूनबमोजिम कारबाही गर्नुपर्ने र आरोप प्रमाणित नभएमा सम्बन्धित व्यक्तिको प्रतिष्ठा तथा संस्थागत मर्यादा संरक्षण हुने गरी स्पष्टता दिनुपर्ने बारको माग छ ।
‘न्यायालयलाई भ्रष्टाचार र विचौलियामुक्त बनाउनु हाम्रो मुख्य प्राथमिकता हो,’ नेपाल बारका एक प्रतिनिधिले भने–‘यदि प्रधानन्यायाधीश वा अन्य कुनै पनि न्यायाधीश विचौलियासँगको यस्ता गैरकानूनी गतिविधिमा जोडिएका छन् भने त्यसको निष्पक्ष छानबिन गरी सत्यतथ्य जनतासामु ल्याइनुपर्छ।’
विगतदेखि नै अदालतमा विचौलियाको प्रभाव र अवाञ्छित चलखेल हुने गरेको आरोप लाग्दै आएकोमा पछिल्लो समय सार्वजनिक भएका विषयहरूले त्यसलाई थप पुष्टि गरेको कानून व्यवसायीहरूको तर्क छ।
न्याय क्षेत्रका विज्ञहरूका अनुसार प्रधानन्यायाधीश जस्तो संवेदनशील पदमा रहेका व्यक्तिसँग जोडिएर यस्ता विषय आउनुले कानूनी शासन र न्यायको मर्ममाथि ठूलो आघात पुर्याउने पनि उनीहरुको तर्क छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पक्राउ परेसँगै उनको मोबाइलको प्राविधिक जाँचपछि राणासँगको सघन सम्बन्धमा रहेका ‘विचौलिया’ इनम सापकोटा पक्राउ परेका थिए ।
सापकोटाको मोबाइलको प्राविधिक जाँचका क्रममा सर्वोच्चका प्रधानन्यायाधीशसहित प्रहरीका आईजीपी दानबहादुर कार्की, एआईजी राजन अधिकारी, पूर्वएआईजी तथा रास्वपा सांसद विश्वराज पोखरेल, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँललगायतका व्यक्तिको कनेक्सन भेटिएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आएका छन् ।
प्रधानमन्त्री बालेन शाह ‘बालेन’ समेतको नाम लिएका सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको समेत नाम लिएको खुलिसकको छ । उनले न्यायाधीश फुयाललाई म्यासेज गरेर विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको पनि विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आएका छन् ।
यहि विषयलाई लिएर बारले विज्ञप्ति जारी गरेको हो ।
