काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका दुवै टोलीको लक्ष्य आजको खेल जित्दै फाइनलमा स्थान सुरक्षित गर्नु रहेको छ।
लिग चरणमा ११ अंक जोड्दै लुम्बिनी पहिलो स्थानमा रहँदा सुदूरपश्चिम १० अंकसहित दोस्रो भएको थियो। त्यसैले दुवै टोली पहिलो क्वालिफायर जितेर उपाधि यात्रालाई थप सहज बनाउने दाउमा छन्।
पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले भने प्रतियोगिताबाट बाहिरिनुपर्ने छैन। उसले दोस्रो क्वालिफायर खेल्दै फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
साबिक विजेता लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर फाइनलमा स्थान बनाउने योजनासहित मैदान उत्रिनेछ।