हेटौँडा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी छाडेका छन् ।
बिहीबार उनले रास्वपाको प्रदेश उपसभापति पद र पार्टीबाट साधारण सदस्यता समेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवारसमेत रहेका हुमागाईंले वर्षौदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप लगाएका छन् ।
हुमागाईंले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप पनि लगाएका छन् ।
बुधबार मात्रै २०७९ साल साउन १० गते रास्वपा प्रवेश गरेकी मधेसकी संस्थापक सभापति ममता शर्माले पनि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् ।
शर्माले पनि पार्टीमा इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको र मधेसमा टिकट वितरणमा आर्थिक अनियमितता भएको आरोप समेत लगाएकी थिइन् ।
यस्तै बुधबार नै रास्वपा मधेसकी संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला)ले सामाजिक सञ्जालमा लेख्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी आफूले पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् ।
गत निर्वाचनमा मधेशबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फकी एक्ली उम्मेदवार समेत रहेकी भुर्तेलले पनि पार्टीमा निरन्तर खटिएका क्षमता भएका नेताहरुको मूल्यांकन नगरिएको र आर्थिक अनियमिततामा पार्टी लिप्त भएको आरोप लगाएकी थिइन् ।
यसअघि माघ २२ गते रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा श्री कुँवरले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थिए ।
त्यसअघि कात्तिक २८ गते पार्टीमा आन्तरिक कलह व्याप्त भएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी छोडेका थिए । यसैगरी असोज १० गते रवि लामिछानेको अपराधको साँची बन्न नसकिने भन्दै केन्द्रीय सदस्य डा। प्रभात अधिकारीले समेत राजीनामा दिएका थिए ।
यस्तै २९ भदौ गते नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको भन्दै केन्द्रीय सदस्य सुमना श्रेष्ठले र हरि भट्टले पनि राजीनामा दिएका थिए । जेनजी पुस्ताको विद्रोहपछि रास्वपामा राजीनामा दिने क्रम बढेको छ।