काठमाडौं – लगातारको वर्षा र बाढी–पहिरोको जोखिम बढेसँगै देशका विभिन्न भागमा सडक अवरुद्ध हुने क्रम बढेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आज मात्र देशभर चार प्रमुख सडक पूर्ण रूपमा बन्द भएका छन् भने दुई सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेका छन् ।
सबैभन्दा पहिले काठमाडौंको सतुंगल–चित्लाङ सडकखण्ड अवरुद्ध भएको छ। चन्द्रागिरि नगरपालिका–९ देउराली क्षेत्रमा सडक मर्मत कार्य जारी रहेकाले यो मार्ग बन्द गरिएको हो। प्रहरीले दिएको जानकारीअनुसार यो सडक करिब एक महिना बन्द रहनेछ।
त्यस्तै, बाढीको उच्च जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी ९बीपी राजमार्ग० हुँदै सञ्चालन हुने सवारी साधनलाई अस्थायी रूपमा रोक लगाइएको छ। लगातारको वर्षाले उक्त क्षेत्रमा भू–क्षय र बाढीको जोखिम बढेपछि यस्तो निर्णय गरिएको हो।
मकवानपुरमा पनि सडक अवरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत महालक्ष्मी खोलामा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी–फाखेल सडकखण्ड पूर्ण रूपमा बन्द छ।
यस्तै, रोल्पामा सहिद राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैबीच, दुई सडकखण्डमा भने एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ। निरन्तर वर्षाका कारण पहाडी तथा जोखिमयुक्त क्षेत्रमा यात्रामा सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।