काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते बेइजिङ जाने भएका हुन् ।
बेइजिङ भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी वाङ यीलगायत चिनियाँ अधिकारीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी हुने र चिनियाँ व्यवसायीहरुसँग अन्तरक्रिया समेत गर्नेछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा सरकार गठन भएपछि परराष्ट्रमन्त्री खनालको यो दोस्रो विदेश भ्रमण हो ।
रास्वपाको सरकार बनेपछि चीन आफ्ना परियोजनाहरु कसरी अगाडि बढ्छ भनेर सशंकित भइरहेका बेला परराष्ट्रमन्त्री खनालको यो भ्रमण हुन लागेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको उपस्थितिमा गत बर्ष बेइजिङमा दुई मुलुकबीच बीआरआइ कार्यान्वयन गर्न त्यसको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।
चीन बीआरआई कार्यान्वयन होस् भन्ने पक्षमा छ तर, भूराजनीतिक जटिलताका कारण लामो समयदेखि बीआरआइ परियोजना कार्यान्वयन भएको छैन । परराष्ट्रमन्त्री खनालले अब बीआरआई बारे के निर्णय गर्छन् ? त्यो भने पर्खाइको विषय बनेको छ ।
मन्त्री खनाल असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री खनाल गत आइतबार मात्रै भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका थिए । भारतका विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए। वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल गरेका थिए ।
नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।