काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जेनजी सांसद सृष्टी भट्टराईको आफ्नै एउटा भिडिओका कारण विवादमा परेकी छन् । तीन महिना अघिको भिडिओले उनी अहिले विवादमा तानिएकी हुन् ।
अहिले सामाजिक सञ्जालमा भाइरल भिडिओमा उनी गुडिरहेको कारको झ्यालबाट आधाभन्दा बढी जीउ बाहिर निकालेर यात्रा गरिरहेकी छन् ।
राजमार्गको यात्रामा यसरी झ्यालबाट जिउ निकाल्नु निकै असुरक्षित मानिन्छ । सांसदजस्तो जिम्मेवार व्यक्तिले यसरी गैरजिम्मेवार र उत्ताउलोपन देखाएको भन्दै धेरैले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन् ।
हालैमात्र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ एक हातले मोटरसाइल चलाउँदै भिडिओ खिच्दा दुघर्टनामा परेका थिए । उनलाई ट्राफिक कारवाहीसमेत भएको थियो । यद्यपी साम्पाङले भने कारबाहीमा परेको कुरालाई अस्वीकार गर्दै आएका छन् । सृष्टीलाई पनि कारवाही हुन्छ कि हुँदैन भन्ने प्रश्न उब्जिएको छ ।
सृष्टीले ड्राइभर छेउको सिटमा बसेर आधाभन्दा बढी जिउ बाहिर निकालेकी मात्र छैनन्, बच्चाले झैं बबल फुलाएर थप मजा लिइरहेकी छन् । ब्याक ग्राउन्डमा अंग्रेजी गीत हालेर सृष्टीले गज्जबको भिडिओ त बनाएकी छिन्, तर उनको यो हर्कत सडक सुरक्षाका दृष्टिकोणले निकै महत्वपूर्ण छ ।
यो भिडिओ सृष्टी सांसद हुनुभन्दा अगाडिकै हो । गत फागुन २१ गते (प्रतिनिधिभा चुनाव भएकै दिन) यो भिडिओ उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । त्यसबेला उनी रास्वपाको समानुपातिकको बन्दसूचीमा परिसके पनि सांसद बन्ने वा नबन्ने निश्चित भइसकेको थिएन । यद्यपि, अहिले पनि यो भिडिओ उनको इन्स्टाग्राममा यथावत नै छ ।
सृष्टी सांसद बन्नुअघि सुनसरी जिल्ला अदालतमा बाल विशेषज्ञका रुपमा कार्यरत थिइन् । उनी कोशी प्रदेशमा करिअर काउन्सीलरका रुपमा पनि सक्रिय थिइन् ।
यो भिडिओकै कारण उनीमाथि ट्राफिक कारबाहीको हुने देखिन्छ । प्रहरी स्रोतका अनुसार सृष्टिलाई यातायात व्यवस्था ऐन बमोजिम कारबाही हुने भएको छ । उनले गरेको कसुर यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अन्तर्गत कारबाहीको दायरामा पर्ने एक ट्राफिक अधिकारी बताउँछन् ।
उक्त दफामा लापरबाहीको कसुर आकर्षित हुने ती अधिकारीको भनाई छ । सो व्यवस्थाअनुसार पहिलोपटक ५००, दोस्रोपटक १००० र तेस्रोपटक १५०० रूपैयाँ जरिवाना हुन्छ । सांसद भट्टराईले उक्त दृश्य कुन ठाउँमा कैद गरेकी हुन् भन्ने कुरा खुल्न सकेको छैन ।