काठमाडौं – प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा मन्त्रीहरू नउठेका भनेर नियमापत्ति जनाइएको छ ।
आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमा छलफल हुँदा सम्बन्धित मन्त्री उपस्थित नभएपछि मंगलबारको पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
दोस्रोपटक बैठक बस्दा अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वधार विकासमन्त्री सुनिल लम्साल आसनबाट नउठेपछि एमालेका प्रमुख सचेतक ऐन महरले नियमापत्ति जनाएका हुन् ।
सचेतक महरले प्रतिनिधिसभा नियमावली २०८३ को नियम २० को खण्ड (क)प्रति ध्यानाकर्षण गराउँदै सभामुख बैठककक्षमा आउँदा मन्त्रीहरु नउठेको भन्दै ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (क)मा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था छ
यही नियमप्रति सदनको ध्यानाकर्षण गराउँदै उनले नउठेका मन्त्रीको भिडियो ‘चेक’ गरी ‘रुलिङ’का निम्ति आग्रह गरे ।
‘सम्मानीय सभामुख महोदय बैठककक्षमा प्रवेश गर्दैगर्दा दुईजना मन्त्रीज्यूले उठेर सम्मान गर्नुभएको छैन। यसले हामीलाई चिन्तित र गम्भीर बनाएको छ । त्यो भिडियो रेकर्ड चेक गरी रुलिङ गर्न अनुरोध गर्दछु,’ प्रमुख सचेतक ऐन महरले भने ।
यद्यपी सभामुख अर्यालले भने नियमापत्ति प्रति कुनै चासो नदेखाइ बैठकका काम-कारबाही अघि बढाएका छन् ।