काठमाडौं – सम्पत्ति शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृतिका लागि राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि उक्त अध्यादेश ल्याएको थियो ।
सरकारले ल्याएको उक्त विधेयक संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेस भएको थियो ।
बैठकमा विपक्ष दलहरुको तर्फबाट एमालेकी सांसद नीता घतानीले उक्त अध्यादेश अस्वीकृतिका लागि राखेको प्रस्ताव अस्वीकृत भएको थियो ।
यस्तै सरकारले सम्पत्ति शुद्धिकरण निवारणसँगै ८ वटा अध्यादेश ल्याएको थियो ।
ती अध्यादेशहरू पनि अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए ।
यसमध्ये शुक्रबार प्रतिनिधिसभाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि स्वीकृत गरेको छ ।
उक्त अध्यादेशहरु प्रतिनिधिसभाबाट स्वीकृत भएसँगै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।
यस्तै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे (६ दिनपछि) बस्ने गरी बैठक स्थगित गरेका छन् ।