AarthikBikash
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • राजनीति
  • लुम्बिनीमा सत्तापक्षकै सांसदको बजेटमा विरोधपछि रोकियो सदन, मुख्यमन्त्री र दलका नेता छलफलमा

लुम्बिनीमा सत्तापक्षकै सांसदको बजेटमा विरोधपछि रोकियो सदन, मुख्यमन्त्री र दलका नेता छलफलमा

  • मङ्लबार, असार ९, २०८३
लुम्बिनीमा सत्तापक्षकै सांसदको बजेटमा विरोधपछि रोकियो सदन, मुख्यमन्त्री र दलका नेता छलफलमा

रूपन्देही – लुम्बिनी प्रदेशमा सत्तापक्षमै सांसदले बजेटमा आपत्ति जनाएपछि प्रदेश सभाको बैठक रोकिएको छ ।

बर्दियाबाट निर्वाचित कांग्रेस प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीले आफ्नो क्षेत्रमा मन्त्रीले नियोजित रूपमा सबै बजेट काटेको भन्दै प्रदेश सभाको बैठकमा उठेर आपत्ति जनाएका थिए । उनलाई विपक्षी दलसहितका अन्य सांसदहरूले समर्थन गरे । स्थिति असहज बनेपछि सभामुख तुलाराम घर्ती मगरले बैठक स्थगित गरेका हुन् ।

बजेटका विषयमा छलफल गर्न भनेर हिजो बोलाइएको बैठक सांसदहरूले बजेट पुस्तिका समयमा अध्ययन गर्न नपाएको भन्दै विरोध गरेपछि रोकिएको थियो । आजको बैठक पनि सत्तारुढसहित विपक्षी दलका सांसदहरूको विरोधका कारण स्थगित भएको हो ।

प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले विरोध जनाएका हुन् । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । तर छलफल सुरु हुनुभन्दा अघि करिब १६ जना प्रदेश सभा सदस्यहरूले उठेर विरोध जनाएपछि सदनमा अवरोध सिर्जना भएको थियो ।

सत्तापक्षमै रहेका केही सांसदले समेत बजेटका विषयमा असन्तुष्टि जनाउँदै विरोध जारी राखेपछि बैठक सामान्य रूपमा अघि बढ्न सकेन । सभामुख घर्ती मगरले सहमति कायम गर्न आवश्यक रहेको भन्दै बैठक स्थगन गरे ।

अहिले मुख्यमन्त्री चेतनारायण आचार्यले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसहितका असन्तुष्ट पक्षलाई राखेर छलफल थालेका छन् । तर मन्त्रीबाट नै गम्भीर गल्ती भएर बजेट काटिएकाले समस्या भएको कांग्रेस प्रमुख सचेतक जमुना ढकालले बताइन् ।

‘सत्तापक्ष भए पनि पीडित भएपछि त बोल्नुपरो नि । मन्त्रीले नै गम्भीर गल्ती गरेर बजेट पूरै क्षेत्रमा निल बनाइएको छ । बर्दियामा भौतिकको कुनै योजना नपारिएपछि त्यो क्षेत्रका सांसदले स्थानीयलाई के जवाफ दिने त ?’ उनले प्रश्न गरिन् ।

सरकारले यो बजेटका लागि सांसदहरूलाई प्रत्यक्ष र समानुपातिकमा सिलिङ दिएको तर त्यसरी सिलिङमा राखिएका बजेट पनि काटिएपछि सत्तारुढ र विपक्षी दलका सांसदहरू असन्तुष्ट बनेको एमालेका एक सांसदले जनाए ।

‘यस्तो बेथिति नि हुन्छ ? बजेट मन्त्रीका निर्वाचन क्षेत्रमा केन्द्रित गरेर अन्तका सांसदले के जवाफ दिने ? गतसाल पनि यस्तै भएको थियो । अहिले सबैभन्दा बेथिति भौतिक मन्त्रालयमा भएको छ,’ उनले भने ।

बजेटमा भएका गल्ती नसच्चाए आन्तरिक रूपमा प्रतिपक्षले उठाएका विषयमा धेरैको साथ हुने र बजेट पास गर्न समस्या हुने उनको दाबी छ ।

प्रमुख प्रतिपक्ष दल नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले मन्त्रीहरूको ठूलो बदमासीका कारण अहिलेको बजेटलाई बजेट भन्नै नमिल्ने भएकाले सत्तारुढ पक्षले आफ्नो विरोधलाई साथ दिएको बताए । ‘सांसदलाई किन विनियोजन अधिकार दिएको ? सांसदलाई सिलिङ दिएर योजना माग्ने अनि पूरै काटेर मन्त्रीले आफ्नो इलाकामा अन्धाधुन्ध राख्ने ?’ उनले प्रश्न गरे ।

यसरी पठाएका योजना मन्त्रीले नै काटेको सूचना पाएको चौधरीको भनाइ छ । नीति तथा कार्यक्रममा आधारित बजेट नै नआएको पनि उनले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘सत्तापक्षका धेरै सांसदहरूले हामीलाई आन्तरिक हिसाबले साथ दिने बताउनुभएको छ । केही त खुलेरै विरोधमा हुनुहुन्छ । मन्त्रीले गरेका यस्ता गम्भीर गल्ती नसच्चाएसम्म यो छलफल अघि बढ्न सक्दैन । गतसाल पनि यसै गरेर थामथुम पारिएको हो तर अहिले त्यसरी हुँदैन ।’

सम्बन्धित समाचार