AarthikBikash
आइतवार, असार २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक, ८५ प्रतिशत जलन

आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक, ८५ प्रतिशत जलन

  • आइतवार, असार २८, २०८३
आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक,  ८५ प्रतिशत जलन

काठमाडौं – आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ।

शुक्रबार आत्मदाह प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिकाका मण्डलको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन्।

विवेकले शुक्रबार घरबाट करिब २ सय मिटर टाढा गएर आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।

त्यसपछि उनलाई शुक्रबार साँझ नै कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो ।

मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिएका छन् । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ ।

‘अवस्था क्रिटिकल छ । आईसीयूमा उपचार हुँदैछ । हिजो साढे ७ बजे ल्याएको हो । ८५ प्रतिशत जलेको छ । सबै गहिरो छ,’ निर्देशक नकर्मीले भने।

अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार विवेकको आज शल्यक्रिया पनि गरिंदैछ ।

परिवारका अनुसार विवेक मण्डल महोत्तरीको गौशालास्थित एक सरकारी विद्यालयमा अस्थायी शिक्षकका रूपमा कार्यरत थिए। अंग्रेजी विषयमा स्नातकोत्तर (मास्टर्स) गरेका उनी करिब छ महिनाअघि विद्यालयको अस्थायी जागिर गुमाएपछि मानसिक रूपमा गम्भीर तनावमा परेका थिए।

यता पछिल्लो तीन दिनभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने घटनामा दुई जनाको मृत्यु भइसकेको छ ।

काठमाडौं महानगरपालिका–१० बुद्धनगर निवासी ४५ वर्षीय राउतको शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो।

तर राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवादका कारण उनले यस्तो कदम चालेको देखिएको प्रहरीले जनाएको छ।

यस्तै बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग भएको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए। उनको पनि शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो।

सम्बन्धित समाचार