सिरहा – गोलबजार नगरपालिका क्षेत्रमा कर्फ्यु खुकुलो बनाएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गर्दै गोलबजार क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको जनाएको हो।
जारी सूचनाअनुसार स्थानीय परिस्थितिको थप विश्लेषण गरी कर्फ्यु थप खुकुलो पार्ने वा फिर्ता लिने सम्बन्धमा पुनः सूचित गरिने जनाइएको छ ।
यद्यपि, शान्ति–सुरक्षा कायम राख्न उक्त अवधिमा पाँच जनाभन्दा बढी व्यक्तिको भेला हुन नपाइने व्यवस्था यथावत् रहने सूचनामा उल्लेख गरिएको छ।
प्रशासनले सबैलाई संयम अपनाउँदै सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।
गएको आइतबार सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सशस्त्र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। घाइतेमध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा तोडफोड तथा आगजनीका घटना भएका थिए ।
देवानगञ्ज घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा पनि आन्दोलन र प्रदर्शन भएका थिए। यसक्रममा सिरहाको लहानमा प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।
त्यसपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मधेसप्रदेश भर कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो ।
पिडित परिवार र सरकारबीच सहमति भएसँगै अवस्था केही सामान्य बन्दै गएको छ ।
शनिबार सिरहाको लहान क्षेत्रमा लगाइएको कर्फ्यु पनि हटाइएको थियो ।