काठमाडौं – भोटेकोशी बाढीपछि नेपाललाई सहयोग गर्ने राष्ट्रमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) ले थप ८० टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ।
यूएईले यसअघि नै नेपाललाई १० मिलियन अमेरिकी डलर (करिब डेढ अर्ब रुपैयाँ) नगद सहयोग घोषणा गरिसकेको छ।
हालसम्म बाढी प्रभावित नेपाललाई नगद सहयोग गर्ने मुलुकमध्ये यूएईको सहयोग सबैभन्दा ठूलो रहेको जनाइएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यूएईले पठाएको ८० टन राहत सामग्री शनिबार राति ११ः३० बजे नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
राहत सामग्री बुझ्ने क्रममा भारी वर्षा भएको मन्त्री पुनले जानकारी दिएका छन्।
उनका अनुसार यूएईबाट पर्सि अर्को हवाईजहाजमार्फत थप राहत सामग्री नेपाल आउनेछ।
यसअघि आजै भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा सहयोग गर्न चीनले पनि ५० टन आपत्कालीन राहत सामग्री र चार जना सुरुङ उद्धार विज्ञ नेपाल पठाएको थियो ।
यसैगरी भोटेकोसी बाढीबाट प्रभावित नेपाली नागरिकका लागि भारतले पनि चौथोपटक खोज, उद्धार तथा राहत कार्यमा आवश्यक पर्ने ११ टन सामग्रीसहित सी–१३० सैन्य विमान शनिबार राति नेपाल पठाएको थियो ।