एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको छ ।
किर्गिस्तानको राजधानी बिस्केकमा आयोजित एससीओ (सांघाई सहयोग संगठन) शिखर सम्मेलनका क्रममा मोदी र पुटिनबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले रुस–युक्रेन युद्ध तत्काल अन्त्य हुनुपर्नेमा भारतको स्पष्ट धारणा राखेका छन् । उनले युद्धको निरन्तरताले मानवतालाई पछाडि धकेलिरहेको भन्दै शान्तिका लागि भइरहेका सबै प्रयासलाई भारतले समर्थन गर्ने बताए।
मोदीले भने, ‘म युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्ने पक्षमा छु, किनकि युद्धका हरेक दिनले मानवतालाई पछाडि धकेलिरहेका छन्।’
युक्रेन संकटबारे आफूहरूबीच यसअघि पनि पटक–पटक छलफल भएको स्मरण गर्दै मोदीले शान्तिका सबै प्रयासमा भारतको समर्थन रहने बताए।
उनले भने, ‘युद्धका हरेक दिनले मानवतालाई पछाडि धकेल्छ भने शान्तितर्फ चालिएका हरेक कदमले नयाँ आशा सिर्जना गर्छ। हामीले अन्तहीन युद्धबाट युद्ध अन्त्यतर्फ जानुपर्छ। यो मानव कल्याणका लागि आवश्यक छ।’
मोदीले पुटिनको पछिल्लो भारत भ्रमणलाई समेत स्मरण गर्दै उक्त भ्रमण सफल र अविस्मरणीय रहेको बताए। रुस–भारतबीचको सहकार्य नयाँ उचाइमा पुगिरहेको उल्लेख गर्दै उनले दुवै देशका जनताको हितलाई केन्द्रमा राखेर सहकार्य अघि बढिरहेको बताए।
‘राष्ट्रिय हितलाई प्राथमिकता दिनु हाम्रो साझा दृष्टिकोण हो र भविष्यमा पनि यही हाम्रो मार्गदर्शक सिद्धान्त रहनेछ,’ मोदीले भने।