बाजुरा – बाजुराको बडीमालिका नगरपालिका–९ मा अविरल वर्षापछि आएको पहिरोले आधा दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ।
पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घर तथा गोठमा क्षति पुर्याएको हो। केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
पहिरोमा परेर मोती उखेडाका दुई गोरु मरेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी शैलेश्वरी बोहराका अनुसार पहिरोले घर तथा गोठमा क्षति पुर्याए पनि मानवीय क्षति भएको छैन।
पहिरो घरभित्र पस्दा भाँडाकुँडा, लत्ताकपडा र अन्नपातलगायतका सामानमा समेत क्षति पुगेको छ। वर्षा नरोकिएकाले प्रभावित परिवार थप जोखिममा रहेका छन्।
प्रहरीका अनुसार जिल्लाका अन्य स्थानमा पनि बाढी, पहिरो तथा डुबानबाट क्षति भएको प्रारम्भिक विवरण आउन थालेको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।