म्याग्दी – म्याग्दीको बेनी नगरपालिकामा धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गर्ने नाती पक्राउ परेका छन् ।
बेनी नगरपालिका–२, खबरा बस्ने ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा उनकै छोरीका छोरा (नाती) २६ वर्षीय आशिष बरुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार बिहान करिब ११ंंः३० बजेको समयमा बरुवालले घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेर घटनास्थलबाट फरार भएका थिए।
घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको विशेष प्रहरी टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा बरुवाललाई बेनी नगरपालिका-२ हाडेभिरस्थित भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो । घटनाबारे आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ ।